January 30, 2008

राजा वीरेन्द्र हाँसे मात्र

 

प्रा.डा. दयानन्द बज्राचार्य, पूर्व उपकुलपति

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)


नेपालमा सबैभन्दा कान्छो उमेरमा प्राध्यापकको उपाधि पाएका डा. दयानन्द बज्राचार्य नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान -नास्ट) का पूर्व उपकुलपति हुन् । दुब्लो, पातलो अझ स्पष्ट भन्नुपर्दा मरनच्याँसे तर ज्ञान र शिक्षाका बादशाह बज्राचार्य पछिल्लो समय लेखक र स्तम्भकारका रुपमा पनि परिचित भइसकेका छन् । विज्ञान र प्रविधिको पछिल्लो अवस्थाबारे काठमाडौं कर्नरका अशोक सिलवाल र उनै मरनच्याँसे बज्राचार्य बीचको कुराकानी ।

नेपालमा विज्ञान प्रविधिको स्थिति कस्तो छ ?

केही दशक अघिको तुलनामा प्रगति भएको छ । तथापि छिमेकी मुलुकहरुमा भएको प्रगतिको तुलनामा हामी निकै पछि छौं ।

केही प्रगति भएको छ भन्नु भयो । त्यो प्रगति के हो ?

केही दशकयता विज्ञान प्रविधिको जनशक्तिमा ठूलो अभिवृद्धि भएको छ । झण्डैझण्डै ३ दशकमा ३ सय प्रतिशत भन्दा बढी वैज्ञानिक जनशक्ति उत्पादन भएको छ । त्यस्तै विज्ञान शिक्षामा पनि प्रगति भएको छ । पहिले सिमित शैक्षिक संस्थाहरुमा मात्रै यसको पर्ढाई हुन्थ्यो । तर अहिले प्राविधिक विषयहरु जस्तो मेडिकल साइन्स, इन्जिनियरिङ, कृषिलगायतका विषयमा शिक्षण संस्थाहरुको संख्या निकै बढेको छ । त्यही अनुसार जनशक्तिको राम्रो उत्पादन भएको छ ।

तपाईले भन्नु भए जस्तो वैज्ञानिक जनशक्ति त उत्पादन त भयो । तर त्यो जनशक्तिले उत्पादन चाहिँ के गर्‍यो ?

उत्पादित जनशक्तिलाई प्रयोग चाहिँ गर्न सकेका छैनौं । उनीहरुलाई काम गर्ने अवसर राज्यले दिन सकेको छैन ।

त्यसो भए त्यो प्रगतिको के अर्थ ?

एक प्रकारले त जनशक्ति उत्पादन हुनु त प्रगति हो नि । तर त्यो जनशक्तिलाई प्रयोग गर्न राज्यको जुन प्रकारको नीति हुनुपर्ने हो, त्यस्तो हुन सकेको छैन ।

किन ?

विज्ञान र प्रविधिको महत्व राजनीतिज्ञ, नीति निर्माता र योजनाकारहरुले नबुझेकोले त्यस्तो हुन नसकेको हो । हाम्रो राजनीतिज्ञहरु नयाँ नेपालको धेरै कुरा गर्छन । नेपाललाई सिंगापुर र स्वीट्जरल्याण्ड बनाउने भाषण गर्छन । तर, ती मुलुकहरुमा कसरी विकास विज्ञान र प्रविधिमार्फत भयो भन्ने उनीहरुलाई थाहा छैन । सातदलका नेताहरुले यसबारेमा बोलेको तपाईले कहिल्यै सुन्न भएको छ ? सामािजक, आरि्थक रुपले नयाँ नेपाल निर्माणमा विज्ञान प्रविधिको भूमिकाको बारेमा बोलेको मैले चाहिँ सुनेको छैन ।तर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नाष्टको एक कार्यक्रममा विज्ञान प्रविधिको विकासको लागि आवश्यक सम्पूर्ण सहयोग गर्न तत्पर रहेको बताएका थिए नि ?

हो, हो । कुनै पनि विषयको कार्यक्रममा जाँदा सम्बन्धित क्षेत्रलाई सहयोग गर्छु भन्ने कुरा त फेसन नै भएको छ । यो त हरेक राजनीतिज्ञले बोल्ने औपचारिकता मात्र हो ।

जस्तो भाँडो त्यस्तै पानीको आकार । नेपाली नेताको प्रवृति भनेको त्यस्तै होइन त ?

हो । मलाई त्यस्तै लाग्छ । तथापि मैले भन्नै पर्छ- म नाष्टको उपकुलपति हुँदा गिरिजाबाबु सहकुलपति थिए । र, मैले उनीसँग काम गर्ने मौका पाएको थिए । उनमा मैले विज्ञान र प्रविधिको क्षेत्रमा केही गर्ने व्यक्तिगत इच्छा पाएको छु । तर, त्यो इच्छालाई जुन प्रकारले अगाडि बढाउनु पर्ने हो, त्यस्तो हुनसकेको छैन । उनको कमिकमजोरीले मात्र नभएर अन्य संयन्त्र अभावले पनि त्यस्तो भएको हुनसक्छ ।

विज्ञान र प्रविधि मन्त्रालय नै स्थापना गरेको छ नि राज्यले त ?

निश्चित रुपमा स्थापना गरेको छ ।

अनि राज्यले विज्ञान र प्रविधिको क्षेत्रमा यो भन्दा बढी के गर्ने ?

संयन्त्र तयार पार्नु भन्दा पनि त्यो संयन्त्रले सम्बन्धित क्षेत्रमा कत्तिको योगदान पुर्‍यायो भन्ने महत्वपूर्ण हुन्छ नि । म तपाईलाई एउटा रोचक कुरा सुनाउँछु । जुन दिन विज्ञान तथा प्रविधि मन्त्रालय स्थापना भएको थियो, संयोगवस् त्यही दिन एउटा कार्यक्रममा म पनि सरिक भएको थिएँ । त्यहाँ तत्कालिन राजा वीरेन्द्र र तत्कालिन प्रधानमन्त्री शेरबहादुरजी पनि थिए । त्यतिबेला ४९ जनाको जम्बो मन्त्री मण्डल गठन गरिएको थियो । मैले तत्कालिन राजा वीरेन्द्रकै अगाडि तत्कालिन प्रधानमन्त्री शेरबहादुरजीलाई सोधें- पदीय भागवण्डाका लागि विज्ञान प्रविधि मन्त्रालय स्थापना गरिएको कि विज्ञान तथा प्रविधि क्षेत्रको विकासको लागि ? शेरबहादुरले प्रत्युत्तरमा हाँस्दै भने- दुवै अलि अलि हो । मेरो प्रश्न र शेरबहादुरजीको उत्तर सुनेर राजा वीरेन्द्र हाँसे मात्र ।

January 29, 2008

यसपटक र अघिल्लो पटकको कुरा होइन मित्र

नेत्रक्रम चन्द उर्फ विप्लव

 

नम्र मिजासका माओवादी नेता जसको प्रमुख कार्यक्षेत्र सुदुरपश्चिम हो । उनी हुन्- नेत्रक्रम चन्द उर्फ विप्लव । माओवादीले सुप्रिम प्रचण्ड, विद्धान डा. बाबुराम लगायत एघार केन्द्रिय नेताको चुनावी क्षेत्र तय गरेको छ । सबै दल भन्दा पहिले यस्तो घोषणा गरेर माओवादीले चुनावी माहौल तताउने काम गरेको छ । विप्लवको भागमा कैलाली परेको छ । जीवनमा पहिलोपल्ट खुला प्रतिस्पर्धामा उत्र्दैछन् उनी । खुला प्रतिस्पर्धामा सहभागी हुने तरखर गर्दैगर्दा कस्तो लाग्दैछ होला उनलाई ? काठमाडौ कर्नरका अशोक सिलवाल र विप्लव बीचको कुराकानी ।

प्रश्न सोधौं ?

सजिलो प्रश्न सोध्नुहोला है ।

असजिलो प्रश्न सोधें भने पनि सजिलो मानेर उत्तर दिनुहोला नि ।

ल ल ल ।

खुला निर्वाचनमा लड्दै हुनुहुन्छ । कस्तो लाग्दैछ ?

यो निर्वाचनलाई हामीले नेपालको भविष्य निर्माण गर्ने र नेपाली जनतालाई नयाँ जीवनतिर प्रवेश गराउने नयाँ क्रान्तिकोरुपमा हेरेका छौं । त्यस अर्थमा यसलाई आमूल परिवर्तनको आन्दोलनसँग जोडेर हर्ेदा बेश होला । हामीले जनताको सेवक र सिपाहीको हिसावले दायित्व पूरा गर्नुपर्छ भन्ने लाग्दैछ ।

जे होस् जीवनमा पहिलो पटक खुला प्रतिस्पर्धामा भाग लिँदै हुनुहुन्छ ?

भिन्न भिन्न प्रतिस्पर्धाबाट गुज्रेर हामी यहाँसम्म आएका छौं । तर यसपटक जनताकै बीचमा उम्मेदवारको रुपमा पहिलो पटक प्रस्तुत हुँदै छौं ।

माओवादीका एघार केन्द्रीय नेताको चुनाव क्षेत्र तय भएको छ । तपाईको भागमा परेको कैलाली कहिले जाँदै हुनुहुन्छ ?

कैलाली नै भन्ने जुन बाहिर आएको छ, त्यो हाम्रो छलफलको विषय नै हो, अहिले पनि । तैपनि सुदुरपश्चिम मेरो कार्य क्षेत्र हो । म त्यहाँ गइरहेको छु । हामी छिट्टै अभियानात्मक ढंगले प्रवेश गर्दैछौं । सम्भवत माघको अन्त्यतिर हामी त्यहाँ पुग्छौं ।

हतारिएर वा आत्तिएर अरुभन्दा अगाडि तपाईहरूले निर्वाचन क्षेत्र तय गर्दै सार्वजनिक गर्नुभयो नि ?

हामी हतारिएको वा आत्तिएको होइन । यसलाई त हामी जनजिम्मेवारी र राष्ट्रको उत्तरदायित्व पूरा गर्ने प्रयास हो भन्ने ठान्छौं । पार्टीको प्रस्तावलाई सुस्पष्ट ढंगले समयमै जनताको बीचमा पुर्‍याउने प्रयास हो, यो ।

यसपटक तपाईहरू चुनाव गर्न साच्चिकै लागि परेको देखिन्छ नि ?

यसपटक र अघिल्लो पटकको कुरा होइन, मित्र । तर बीचमा हामीले जति स्पष्ट गर्न खोजे पनि अलि कन्फ्युजन भएको थियो र हामीले नै संविधानसभा निर्वाचन रोकेको हो कि भन्ने भएको थियो । तर, त्यो सत्य कुरा होइन ।

संविधानसभा निर्वाचन २८ चैतमा हुन्छ भनेर अझै पनि जनतामा आशंका छ । आशंका गर्नुपर्ने स्थिति हो कि होइन ?

जनताको आशंका जायज छ । नेपालको राजनीतिक इतिहासमा जनताले धेरै पटक धोका पाएका छन् । विगतमा राजनीतिक संस्था, दल र व्यक्तिहरूले आफ्ना कमजोरीका कारण उपलब्ध ठूला अवसरहरूलाई गुमाएका छन् । त्यसैले चुनौतीहरू सामना गर्न जनता तयार रहनुपर्छ । तर धेरै आशंकित हुनु पर्दैन ।

संविधानसभा निर्वाचनपछि नेपालको चित्र कस्तो हुनेछ ?

साँच्चै स्वाधीन, एकतावद्ध र सग्लो राष्ट्र, जसको आफ्नो सुस्पष्ट नीति, कार्यक्रम र भविष्यको सुन्दर चित्र हुनेछ । हामीले त्यस्तो नेपालको परिकल्पना गरेका छौं । र, त्यतातिर जान सकिन्छ भन्ने मोटामोटी विश्वास छ ।

January 28, 2008

म प्रचण्डलाई भोट दिन्छु

रामराजाप्रसाद सिंह, पुराना गणतन्त्रवादी नेता

 

२०४२ सालताका म भर्खर नर्सरी कक्षामा पढ्ने उमेरको थिएँ । त्यतिबेला राजनीतिको ‘र’ बारे न कुनै चाँसो थियो न कुनै जानकारी नै । तर पनि फाट्टफुट्ट रुपमा ‘रामराजाप्रसाद सिंह’, ‘सत्याग्रह’, ‘सिंहदरबार बमकाण्ड’ सुने जस्तो लाग्छ । त्यसताका र त्यसअघिका चर्चित पात्र हुन् रामराजाप्रसाद सिंह । नेपालमा गणतन्त्रका सुत्रधार मानिने सिंह रहस्य, विवाद, आलोचना र प्रसंशाका सेरोफेरोमै छन् । उमेरको रौनकता छैन तर पनि राजनीतिक तयारी र जोश छ । मान्छेहरुसंगको निरन्तर भेट, राजनीतिक बहस र यस्ता थुप्रै गतिविधिमा सक्रिय छन् । उनै रोमाञ्चक पात्रसंग पछिल्लो राजनीतिक विकासक्रमबारे छोटो कुराकानी ।

तपाई त पहिल्यैदेखि चर्को गणतन्त्रवादी । पञ्चायतकालदेखि नै गणतन्त्रको नारालाई व्यापक रुपमा उचाल्नु भयो । अहिले नेपालमा गणतन्त्र आइसक्या छ जस्तो लाग्छ ?

गणतन्त्र अहिले बाटोमा छ । र, यो आइराख्या छ ।

भनेपछि अब गणतन्त्र रोकिनेवाला छैन ?

अब त समयको कुनै छालले पनि गणतन्त्र रोक्न सक्दैन । यो पर्ुण्ारुपमा आइसकेको त छैन । तर यो हाम्रो असाध्यै नजिक आइसकेको छ ।

गणतन्त्रको कुरा तपाइले उबेलादेखि नै गर्नुभयो । तर अहिले त माओवादी लगायतले गणतन्त्र नेपालको प्रथम राष्ट्रपति प्रचण्डलाई बनाउनु पर्छ भनिरहेका छन् नि ?

प्रचण्डजी राष्ट्रपति बन्दै हुनुहुन्छ भने राम्रो । यदि राष्ट्रपतिको निर्वाचन हुँदैछ र उहाँ लड्दै हुनुहुन्छ भने म उहाँलाई भोट दिन्छु ।

भनेपछि तपाईको समर्थन प्रचण्डलाई छ ?

र्समर्थन त नभनौं । भोटरका रुपमा म भोट दिन्छु । तर त्यसबेला अरु को को हुन्छन् भनेर त्यसलाई पनि नजरमा राख्छु ।

मुलुककै जीवनमा पहिलो पटक हुन लागेको संविधानसभा निर्वाचनमा तपाईको भूमिका के हुन्छ -

म संविधानसभा निर्वाचनमा राम्रोसँग भाग लिन्छु । यो नेपालीको सपना हो । आजदेखि होइन, ७० वर्षभइसक्यो, नेपालीले यो सपना देखेको । म यही सपना बोकेर हिडिरहेको मान्छे । त्यसैले संविधानसभा निर्वाचनमा तन र मनले म खुशीसाथ लाग्नेछु । संविधानसभा निर्वाचनमा भोट हाल्न पाउने जनताको अधिकार हो । तर निर्वाचनमा को उम्मेदवार हुन्छ
, राजनीतिमा को कहाँ पुग्छ त्यसको कुनै ठेगाना हुँदैन ।

अहिले तराइतिरबाट संविधानसभा निर्वाचन हुन नदिने खेल भइरहेका छ । होइन ?

जे भइरहेको छ, त्यो विलकुल अर्नगल भइरहेको छ । यस्तो बाटोबाट गणतन्त्र आउँदैन । गणतन्त्र त पवित्र बाटोबाट आउँछ ।

संविधानसभा निर्वाचन हुन्छ भन्नेमा ढुक्क हुनुहुन्छ ?

संविधानसभा निर्वाचन हुँदैन भने अब यो राष्ट्रमा केही हुँदैन ।

भनेपछि यो अन्तिम मौका हो ?

हो । अब राष्ट्रले चेत्नुपर्छ । संविधानसभा निर्वाचन आफैमा आन्दोलन हो । तर त्यसअघि राष्ट्रपतिको निर्वाचन हुनर्ुपर्छ । अझै पनि संविधानसभा निर्वाचनको लागि तयारी गर्न बाँकी छ ।

प्रस्तुति- अशोक सिलवाल

January 27, 2008

तराइमा कतै राज्य दैखिँदैन

श्याम श्रेष्ठ पत्रकार हुन् र विश्लेषक पनि । त्यसबाहेक नागरिक अगुवाको छवि पनि उनी साथ छ । उनी भन्छन्- सात दलको संयुक्त सभाले मात्र पुग्दैन । उनको प्रश्न छ- संयुक्त राजनीतिक शक्तिको परिचालन खोइ- पत्रकार, विश्लेषक र नागरिक अगुवा श्रेष्ठसंगको सम्वाद प्रस्तुत छ ।

नेपालको वर्तमान राजनीतिक दृश्य कस्तो छ ?

अहिलेको नेपालको राजनीतिक परिस्थिति ज्यादै ठूलो सम्भावना र शंकाको स्थितिमा छ । सम्भावना यसकारणले कि संविधानसभा निर्वाचनको तिथी र लोकतान्त्रिक गणतन्त्र घोषणा भएको छ । सातदल मिलेर संयुक्त सभा गर्न थालेका छन् । अर्कोतर्फसंशय र संकट पनि देखिन्छ । तराइमा कतै राज्य दैखिँदैन । एकपछि अर्को आन्दोलनको घोषणा लगातार भइरहेको छ । त्यसले गर्दा संविधानसभा निर्वाचन हुन सक्ने हो कि होइन भन्ने संशय उत्पन्न भएको छ ।

तराइमा समस्या किन चर्केर आइरहेको छ ?

विगत सहमतिहरू कार्यान्वयन नगर्नाले नै यस्तो भइरहेको छ । पहिलेका सहमतिहरू यदि इमान्दारीपूर्वक कार्यान्वयन गरिदिने हो र त्यसको बोध मधेसीहरूलाई गराउने हो भने समस्या समाधान हुन्छ । साथै निर्वाचनअघि पूरा गर्न सकिने मागलाई त्यसअघि पूरा गरिदिने र नसक्ने मागलाई स्पष्ट पार्नुपर्दछ । तर, सातदलले प्रतिवद्धता जारी गर्नुपर्छ । उनीहरूको मागलाई सम्बोधन गर्ने साझा संवैधानिक सिद्धान्तहरू सार्वजनिक गर्नुपदछ । आम र्सवसाधारण मधेसीको राजनीतिक मागलाई कुनै न कुनै बिन्दुमा सम्बोधन गर्नैपर्छ । तर त्यहाँ अपराधकर्महरू पनि भइरहेका छन् । त्यो कुराप्रति पनि राज्यको संवोधन छैन । त्यस्तै भारतीय पक्षबाट नेपालमा घुसपैठ गराएर तराइ क्षेत्रमा हमेशा अशान्ति गराइराख्ने प्रयास भइरहेको छ । त्यसमा दरवारियाको पनि हात देखिन्छ । यी पाटाहरूलाई अलग अलग ढंगले डिल गर्न नसकिएकोले अहिलेको समस्या पैदा भएको हो ।

निर्वाचनअघि नै यी पाटाहरूलाई कसरी डिल गर्न सकिन्छ ?

सरकारको इच्छाशक्ति हुने हो भने डिल गर्न सकिन्छ । कतिपय मागहरू संविधानसभाले सम्बोधन गर्ने भनेर सात दलले प्रतिवद्धता व्यक्त गरेको खण्डमा पूरा हुन सक्ने खालका छन् । कतिपय मागहरू अहिल्यै पूरा गर्न सक्ने खालका छन् । पहिलेका सहमतिका अक्षरस कार्यान्वयन त अहिले नै गर्न सकिने कुरा हो नि । तर त्यो माग पूरा गर्न किन आपत्ति - यो कुरामा नागरिक समाजलाई शंका उत्पन्न भएको छ । संविधानसभा निर्वाचन नगर्नेतिर सरकार क्रियाशील त छैन ?

जे होस्, संविधानसभा निरवाचन चाहिँ संकटमा परिसक्यो ?

संविधानसभा निर्वाचन त अहिले संकटमा त छ नै । तर अझै पनि संविधानसभा निर्वाचन सम्भव छ । यो असम्भव भइसकेको छैन ।

 

कति प्रतिशत सम्भव र कति प्रतिशत असम्भव होला ?

अधिकांश प्रतिशत सम्भव छ । तर त्यो सातदल र सरकारमा भर पर्छ । एक ढिक्का भएर अगाडि बढ्ने हो भने सबै कुरा ठीक हुन्छ ।

संयुक्तसभा गर्ने तर व्यवहारमा नमिलेको अवस्था हो, सातदलको ?

संयुक्त राजनीतिक शक्तिको परिचालन खोइ ?

प्रस्तुति- अशोक सिलवाल

January 26, 2008

संवाद बामदेव गौतमसंगको

के छ हालखबर ?

संविधानसभा निर्वाचन तयारीको हालखबर छ । त्यसलाई ध्वंस गर्न खोज्ने षडयन्त्रकारीहरुको क्रियाकलापलाई समाप्त गर्ने योजना बनाउने हालखबर पनि छ ।

भन्नाले ?

संविधानसभामा निर्वाचनको तयारीमा हामी जुटेका छौं । एउटा संविधानसभा निर्वाचनमा जनतालाई ल्याउने, अर्को संविधानसभा निर्वाचन हुन नदिनेहरुको षडयन्त्रलाई असफल पार्ने ।

संविधानसभा निर्वाचन असफल पार्नेहरुको षडयन्त्र कति सघन रुपमा आइरहेको छ
?

त्यो सघन रुपमै आएको छ । संविधानसभा निर्वाचन जति नजिकिँदै जान्छ, षडयन्त्र गर्नेहरुले त्यसलाई झन सघन बनाउँदै जान्छन् । र, अहिलेका सरकार त्यो षडयन्त्रलाई चिर्ने योजनाका साथ आइरहेको छैन । त्यसैले उनीहरुलाई मौका पनि मिलिरहेको छ ।

निर्वाचन कत्तिको लागेको छ ?

हामी त निर्वाचनको निम्ति २०६३ सालदेखि निरन्तर लागिरहेका छौं । त्यसैले पनि अहिले हामीलाई निर्वाचन नलाग्ने त कुरै भएन ।

तर अझै पनि मानिसमा आशंका छ । र, उनीहरुलाई निर्वाचन हुन्छ भनेर कसरी आश्वस्त पार्ने ?

जनतामा आशंका भएकैले २३ बुँदे सहमति भयो । र, जनतामा विद्यमान आशंकालाई चिर्न राष्ट्रव्यापी रुपमा सातवटा बृहत आमसभाको आयोजना गरिरहेका छौं । त्यस्तै, सातै दललाई संविधानसभा निर्वाचनका लागि परिचालित गर्न अनुरोध गरेका छौं । अन्य जनसमुदायलाई पनि त्यही भनेका छौं । सरकारले गर्नुपर्ने तयारी पनि तीव्रताका साथ गर्नुपर्छ । निर्वाचन आयोग पनि क्रियाशील छ । यी सब गतिविधि जनताको आशंका चिर्नकै लागि हुन् ।

अन्तरदलिय तयारी चाहि कस्तो छ ?

पहिले जनतालाई सजग बनाउने, त्यसपछि पार्टी संगठन संगठित गर्दै त्यसलाई निर्वाचनप्रति सर्मपित गर्ने र जनतामा जान घोषणापत्र जारी गर्ने, उम्मेदवार चयन गर्ने र जनताको बीचमा पठाउने काम क्रमिक रुपमा हुँदै जानेछन् । हामी त्यसका लागि लागिपरेका छौं ।

नेकपा एमालेको घोषणापत्र कहिले आउँदैछ ?

आवश्यक समयमा घोषणापत्र आउँछ । एक किसिमले हाम्रो घोषणापत्र तयार भइसकेको छ ।

भनेपछि त्यो बाहिर आउन मात्र बाँकी हो ?

घोषणापत्रले केन्द्रीय कमिटीले जारी गर्नुपछ । केन्द्रीय कमिटिको बैठक आगामी २२ गतेदेखि बस्दैछ ।

अब तर्राईतिर लागौं । तर्राईको समस्या निर्वाचनअघि नै समाधान होला त ?

देशभरका सबै समस्या निर्वाचन अघि समाधान हुँदैन । त्यसले गर्दा तराइका सबै समस्या निर्वाचनअघि समाधान हुँदैनन् । तराइका समस्या प्रायोजित रुपमा सृजना गरिएका छन् । ती प्रायोजित समस्या समाधान हुँदैनन् । तर जनताको वास्तविक समस्या समाधान गर्ने प्रतिवद्धता जाहेर गरिएको छ, पहाडमा जसरी नै । आगामी दिनमा ती समस्या समाधान हुँदै जानेछन् ।

अन्त्यमा ?

नेपाली जनता संविधानसभा निर्वाचनमा सम्पूर्ण रुपमा समर्पित भएर लाग्नुपर्छ । यो मुलुकलाई नयाँ युगमा लैजानको निम्ति आउँदो निर्वाचन अत्यन्तै महत्वपूर्ण खुड्किलो हो । यो खुडकिलो पार गरेपछि नयाँ नेपालमा पदापर्ण गर्दछौं । अहिले सबै किसिमका समस्या समाधान गर्ने कोसिस गरिएको छ । यदि यो बीचमा समस्या समाधान भएनन् भने पनि संविधानसभा निर्वाचनपछि समाधान हुन्छ । हामी संघात्मक राज्य व्यवस्थामा जाने भएकाले मुलुकका जाति, भाषा, संस्कृति र क्षेत्रका जुन समस्याहरु छन्, आगामी संघात्मक राज्यमा धनीभूत रुपमा समाधान हुनेछन् । र, हामी नयाँ नेपालमा प्रवेश गर्नेछौं । नयाँ नेपाल पूजीवादी हुनेछैन । त्यो समाजवादी नेपाल हुनेछ । अनि अन्तिम रुपमा सबै समस्याको समाधान पनि त्यही हुनेछ ।

January 15, 2008

पुष्करकृत यौनिक हाइकुले ततायो

भोला पौडेल

यौनवादी पुष्कर लोहनी आफ्नै हाइकुहरु वाचन गर्दै थिए । नुवाकोट सदरमुकाम विदुरीस्थत नुवाकेाट आदर्श बहुमुखी क्याम्पसका बैशालु युवायुवतिमाझ लोहनी माइक समातेर मरीमरी यौनिक हाइकुहरु चिच्याइरहेका थिए ।

असला माछा

मोल्नुसम्म मोलियो

स्वादै आएन ।

केही दिन अघिको एक विहानीलाई पुष्करको माथिको हाइकुले खुव ततायो । युवायुवति माझ पढिएको उक्त हाइकुले ‘वान्समोर’ समेत पायो । एक युवती त हाइकुको मर्मलाई बुझेर तत्काल प्रतिक्रिया जनाइ रहेका थिए- हामीहरुकै पीडा पो रहेछ हाइकुमा । झन्झन् फुर्किएका लोहनीले युवतिको भीडतर्फ फर्किएर अर्को हाइकु थपिहाले ।

कलिलो रैछ

मुट्टीभरीको काक्रो

धितै मरेन ।

पुष्कर लोहनीलाई जिल्ला ल्याउने मेसो आर्दश साहित्य सदनले जुराएको हो । अन्तरकलेज कविता प्रतियोगितको प्रमुख अतिथि बनेर आएका लोहनी र नया नेपालको नया गारेटो शिर्षकको कविताले समेत रमाइलो नै गरायो । कहाको नया नेपालको कुरा कहाको यौनवादी साहित्यकार लोहनी ।

January 13, 2008

स्मृतिका पानाबाट

- कमल नेपाली

पत्रपत्रिकामा प्रवेश नगर्दासम्म केही प्रकाशित गर्न पाए भन्ने चर्को चाहाना उर्लनु स्वभाविकै थियो । कविता लेखेर प्रिन्ट निकाल्दा छापिएसरह फुर्किने मै हुँ । थाहा थिएन एक पेज कम्प्युटर गरेर प्रिन्ट निकालेको रु ५० लिइन्छ । त्यसमाथि कविता । त्यसले त पेजको एक तिहाई पनि भरिन्न । ठीक गरें भन्ने भ्रममा ठगिएको पत्तो हुन्थेन । सृजनासंग यतिविघ्न रौसिने मेरो चित्तले सौता हालिसकेको थियो गजल भित्र्याएर । घरव्यवहारमा सौतेनी माउलो समस्या हो तर साहित्यमा यो बहुमुखीको परिचायक बन्दोरहेछ ।

छपाउने रहरको उत्कर्षसंगै गजल त्रैमासिक प्रकाशित गर्नेसंगको साक्षात्कारले सृजना पाठकमाझ पुर्‍याउन झनै उक्सायो । एसएलसी सकेर आएका ठिटाहरुको काँध चढ्दै मनले खाएको गजल थमाएको थिएँ । दर्ुइ महिना बित्यो । तेस्रो महिनालाई पनि चौथोले थिचिसकेको थियो । सोधे-ं पत्रिका निस्क्यो - प्रश्न चिन्ह हटाएपछि प्रश्न आफैं जवाफ बन्थ्यो । अनि मेरो - ‘अलि मेहनत गर्नु पर्‍यो ।’ जवाफ थियो । केटाकेटीहरुको सल्लाहले ममा बिष नभएको सर्प र इख नभएको छोरो उखान उतारचढाव गरिरहृयो ।

त्यतिविधि दैनिक लगायत पत्रपत्रिका किनेर पढ्ने माहौल थिएन । तैपनि नजिकै चोकमा समाचारपत्र दैनिक टाँसिन्थ्यो/टाँसिन्छ । सँधै बाटोमा पर्ने त्यसले किनकिन त्यत्तिकै तान्थ्यो । खेलकुद, साहित्य र फिल्मी खबरहरुमा सोझिने आँखा प्रत्येक बुधवार प्रकाशित हुने गरेको प्रतियोगितात्मक पाठकटिप्पणी स्तम्भमा पर्‍यो । त्यसमा एक प्रश्न हुन्थ्यो जसमा ८० शब्दमा सिमित भई आफ्नो दृष्टिकोण राख्नर्ुपर्दथ्यो । भाग लिएँ । टिप्पणी पठाएर म गाउँ जानुपर्ने कामले हिडें । एकजना भाइलाई बुधबारको समाचारपत्र हेर्न र मेरो छ भने किनेर राख्नु भनेको थिएँ । फर्कें । सोधें- आको रै’छ त - छ को निरश जवाफ आयो । मेरो भने भर्ुइँमा खुट्टा थिएन । हेरे-ं मेरो टिप्पणी प्रथम भएछ । त्यसपछि त भर्ुइमा नभएका खट्टा आकाशिन खोज्दै थिए । पहिलो प्रयास प्रकाशित मात्र होइन पुरस्कृत नै हुँदा को चाहिँ गमक्क पर्दैन -

त्यसपछि मैले मभित्र लुकेको लेखकलाई भने-ं ‘तँ विद्यालयमा कविता र निबन्धमा प्रथम हुने पटके होस् । लेख् । लेख्न सक्छस् ।’ यो ढाडसबाट त्यो लेखकले अखबारी लेखन रोज्यो । बडो मेहनतसाथ फोटोकपी पेपरमा चारपेज लेखेर गोरखापत्र पुग्यो । माथि जान दिएन । गेटैमा छाड्यो । आउला कि भन्ने आशाले अर्जुनदृष्टि त्यसबाट झिक्ने सकेन । पहिलो प्रयासले दोस्रोपटक दूधभात मुछ्यो । अब पुरस्कृत व्यक्ति जुर्मुरायो । ए गाँठे प्रथम भएको पत्रिकामा किन विचार प्रवाह नगर्ने - एउटै लेखका लागि हप्तादिनसम्म लेख्तै पढ्दै सच्याउँदै गर्‍यो । अन्ततः तीन पेजको पाण्डुलिपी बोकेर सोल्टीमोड पुग्यो । रिसेप्सनमा एकजना दिदी थिइन् । नाम थाहा छैन । त्यही छोड्न भनिन् । छाड्यो । हप्तादिन नपुग्दै तेस्रो पहिलो प्रयासले सफलता चुम्यो । यसले आफ्नो बलबुतामाथिको विश्वास खिरिलो बनायो ।

यिनै दर्ुइवटा पत्रमा फाट्टफुट्ट लेख्तै रहें । बीचमा विविध कारणले हाम्रो परिवार आन्तरिक विस्थापनको स्थितिमा पुग्यो । आर्थिक संकटले गीर खेलिरहृयो । खैर यो मोडमा अरु कुनै दिन । त्यसको बर्ष दिन नपुग्दै चालु व्यापार पनि वैरीकै वक्रदृष्टिको शिकार भयो । ढल्न लागेको रुख थाम्नु थियो । यसले मलाई लामै समय पत्रिकाबाट पर पार्‍यो । परिवारको संयु्क्त यत्नले उक्त रुखमा सानै भएपनि टेको दिन सक्यो । समस्याले गाँज्यो भनेर स्वाभिमान बेच्न सकिन । सतीले श्रापेको देशमा इमान्दारितको उपलब्धी कति हुनछ - अरु भन्दा भिन्न हुनुपर्ने मेरो स्वभावले अक्करको बाटो हिड्न अह्रायो । त्यो मलाई भन्थ्यो- ‘गजबको गन्तव्य भेटिन्छ ।’ अस्थायी जिन्दगीमा स्थायी जागिर खोजीहिड्ने भ्रम च्यातेर ०६३ को दशैं आसपासबाट फेरि पत्रिकाकै अक्करमा छिरें । नेपाली हिमालय टाइम्सलाई फ्याक्स गरें । पहिलेा लेख भोलिपल्टै छापेर हौसला थप्यो । राजधानीमा बसेर राजधानी नदेख्ने - त्यो हौसलाले हकार्‍यो । त्यहाँ पनि फ्याक्स गरें । प्रतिक्षाको घडी महंगो हुन्छ । छापिएन । सोधे. । जवाफ थियो- फ्याक्स क्लिअर आएन । आउनुहोस् । पाण्डुलिपी बोकेर कुदें । यो कुदाईले राजधानीमा कमल फुलायो । यो बास्ना बोकेर कान्तिपुर र अन्नपर्ूण्ा बाहेक चारवटा राष्ट्रिय दैनिकसम्मका दूरी नाप्थें । यसै क्रममा ०६४ को प्रारम्भमै राष्ट्रिय दैनिक नयाँ पत्रिका जन्म्यो । जन्मनासाथै पाँचपातको भइहाल्यो । यहीबीच पाण्डुलिपीको स्थितिले प्रविधिसंग मितेरी गाँस्यो । यो मितेरी साइनो अन्नपूर्णतिर सोझयाएँ । निशाना चुकेन ।

लगत्तै नयाँ पत्रिकामा पनि अटाएँ । बाँकी रहृयो कान्तिपुर । मैले मुलधारका ६ दैनिक संग नाता जोडिसेको थिएँ । तर यता मपार्इंवाला मित्रहरु भने अझै पनि मलाई पाठकपत्र लेख्ने काइदा सिकाउँदै थिए । यसले अलि मेहनत गिर्न पर्‍यो भनिएको विगत झल्काउँथ्यो । पछिल्लो पटक ०६४ को झरीको उत्तर्रार्द्धतिर एक बुज्रुकले त्यस्तै सुझाव दिए । प्ााठकपत्र यसरी लेख्न पर्दछ । नातेदार नभई छापिन्न । अंगुर टिप्न नसकेपछि भनिएको अमिलो थियो यो । जो व्यक्ति पाठकपत्रकै इतिहास बोकेर वर्तमान बाँचिरहेछ उसैका अगाडि र्स्वर्गको बयान ! घुँडा धसें । गरे नहेने के छ यहाँ - मान्छेले जलसिद्धी, अग्नीसिद्धी र वायुसिद्धी समेत हासल गरिसके हामी भने अद्यापि चाकडीको चौघेरो नाघ्न सकेका छैनौं । बुतामाथिको विश्वास अन्ततः कान्तिपुरमा पनि गलत साबित भएन । तर झनै पछिल्लोपटक कान्तिपुरमा प्रकाशित काग एकताको पाठ दलितलाई शर्ीष्ाकको लेख वेवसाइटमा राखिएको कुरा सुनाए एकजना मित्रले । भनें धन्यवाद ! तर धन्यवाद सेलाउन नपाउँदै तिनले तपाईँको मात्र होइन धेरैको हुन्छ भनेर मलाई नफुर्कन संकेत गरे । मखलेल भए हुनन् उचालेर पछार्न सकें भनेर तर मित्र एउटा सल्लाह छ कि पछारृन उचाल्नै पर्दछ । के तपाई उचाल्न त सक्नुहुन्छ - अहिले सात दैनिकसंगको समिपता, कमलको बास्ना डाँडापारिपारिसम्म पुग्नुपर्छ भन्ने अग्रजहरुको अशिर्वाद थापिरहँदा मेहनत गर्न सिकाउनेहरु र पत्र लेख्ने सीप बाँड्नेहरु सबैलाई सलाम गर्न मन लाग्छ । तिनैले घचेटेर मलाई यहाँ ल्याई पुर्‍याएका हुन् । घचेटिरहून् भन्ने अपेक्षा राख्दछु । धन्यवाद !