राजा वीरेन्द्र हाँसे मात्र
प्रा.डा. दयानन्द बज्राचार्य, पूर्व उपकुलपति नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) नेपालमा सबैभन्दा कान्छो उमेरमा प्राध्यापकको उपाधि पाएका डा. दयानन्द बज्राचार्य नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान -नास्ट) का पूर्व उपकुलपति हुन् । दुब्लो, पातलो अझ स्पष्ट भन्नुपर्दा मरनच्याँसे तर ज्ञान र शिक्षाका बादशाह बज्राचार्य पछिल्लो समय लेखक र स्तम्भकारका रुपमा पनि परिचित भइसकेका छन् । विज्ञान र प्रविधिको पछिल्लो अवस्थाबारे काठमाडौं कर्नरका अशोक सिलवाल र उनै मरनच्याँसे बज्राचार्य बीचको कुराकानी । नेपालमा विज्ञान प्रविधिको स्थिति कस्तो छ ? केही दशक अघिको तुलनामा प्रगति भएको छ । तथापि छिमेकी मुलुकहरुमा भएको प्रगतिको तुलनामा हामी निकै पछि छौं । केही प्रगति भएको छ भन्नु भयो । त्यो प्रगति के हो ? केही दशकयता विज्ञान प्रविधिको जनशक्तिमा ठूलो अभिवृद्धि भएको छ । झण्डैझण्डै ३ दशकमा ३ सय प्रतिशत भन्दा बढी वैज्ञानिक जनशक्ति उत्पादन भएको छ । त्यस्तै विज्ञान शिक्षामा पनि प्रगति भएको छ । पहिले सिमित शैक्षिक संस्थाहरुमा मात्रै यसको पर्ढाई हुन्थ्यो । तर अहिले प्राविधिक विषयहरु जस्तो मेडिकल साइन्स, इन्जिनियरिङ, कृषिलगायतका विषयमा शिक्षण संस्थाहरुको संख्या निकै बढेको छ । त्यही अनुसार जनशक्तिको राम्रो उत्पादन भएको छ । तपाईले भन्नु भए जस्तो वैज्ञानिक जनशक्ति त उत्पादन त भयो । तर त्यो जनशक्तिले उत्पादन चाहिँ के गर्यो ? उत्पादित जनशक्तिलाई प्रयोग चाहिँ गर्न सकेका छैनौं । उनीहरुलाई काम गर्ने अवसर राज्यले दिन सकेको छैन । त्यसो भए त्यो प्रगतिको के अर्थ ? एक प्रकारले त जनशक्ति उत्पादन हुनु त प्रगति हो नि । तर त्यो जनशक्तिलाई प्रयोग गर्न राज्यको जुन प्रकारको नीति हुनुपर्ने हो, त्यस्तो हुन सकेको छैन । किन ? हो, हो । कुनै पनि विषयको कार्यक्रममा जाँदा सम्बन्धित क्षेत्रलाई सहयोग गर्छु भन्ने कुरा त फेसन नै भएको छ । यो त हरेक राजनीतिज्ञले बोल्ने औपचारिकता मात्र हो । जस्तो भाँडो त्यस्तै पानीको आकार । नेपाली नेताको प्रवृति भनेको त्यस्तै होइन त ? हो । मलाई त्यस्तै लाग्छ । तथापि मैले भन्नै पर्छ- म नाष्टको उपकुलपति हुँदा गिरिजाबाबु सहकुलपति थिए । र, मैले उनीसँग काम गर्ने मौका पाएको थिए । उनमा मैले विज्ञान र प्रविधिको क्षेत्रमा केही गर्ने व्यक्तिगत इच्छा पाएको छु । तर, त्यो इच्छालाई जुन प्रकारले अगाडि बढाउनु पर्ने हो, त्यस्तो हुनसकेको छैन । उनको कमिकमजोरीले मात्र नभएर अन्य संयन्त्र अभावले पनि त्यस्तो भएको हुनसक्छ । विज्ञान र प्रविधि मन्त्रालय नै स्थापना गरेको छ नि राज्यले त ? निश्चित रुपमा स्थापना गरेको छ । अनि राज्यले विज्ञान र प्रविधिको क्षेत्रमा यो भन्दा बढी के गर्ने ? संयन्त्र तयार पार्नु भन्दा पनि त्यो संयन्त्रले सम्बन्धित क्षेत्रमा कत्तिको योगदान पुर्यायो भन्ने महत्वपूर्ण हुन्छ नि । म तपाईलाई एउटा रोचक कुरा सुनाउँछु । जुन दिन विज्ञान तथा प्रविधि मन्त्रालय स्थापना भएको थियो, संयोगवस् त्यही दिन एउटा कार्यक्रममा म पनि सरिक भएको थिएँ । त्यहाँ तत्कालिन राजा वीरेन्द्र र तत्कालिन प्रधानमन्त्री शेरबहादुरजी पनि थिए । त्यतिबेला ४९ जनाको जम्बो मन्त्री मण्डल गठन गरिएको थियो । मैले तत्कालिन राजा वीरेन्द्रकै अगाडि तत्कालिन प्रधानमन्त्री शेरबहादुरजीलाई सोधें- पदीय भागवण्डाका लागि विज्ञान प्रविधि मन्त्रालय स्थापना गरिएको कि विज्ञान तथा प्रविधि क्षेत्रको विकासको लागि ? शेरबहादुरले प्रत्युत्तरमा हाँस्दै भने- दुवै अलि अलि हो । मेरो प्रश्न र शेरबहादुरजीको उत्तर सुनेर राजा वीरेन्द्र हाँसे मात्र ।