February 14, 2008

एक, दुइ, तीन निर्वाचन हुन्छ

सीपी मैनाली

मैनाली नेपाली कम्युनिष्ट आन्दोलनका एक चर्चित पात्र थिए । बीचमा यिनी हराए । अहिले फेरि जुर्मुराएका छन् । सात दल मध्ये एकको प्रतिनिधित्व गर्छन उनी । उनै चर्चित पात्र मैलालीसंग काठमाडौं करेनरका अशोक सिलवाल बीचको सम्वाद ।

सातदल गठबन्धन केही समयदेखि अलि बढी सक्रिय भएको हो ?

समस्याहरू छन् । त्यसकारण समाधानको लागि सातदल सक्रिय भएर लागेको छ ।

अब २८ चैतमा निर्वाचन एक, दुइ, तीन हुन्छ भन्न सक्नुहुन्छ ?

निर्वाचन हुन्छ । सातदल निवार्चनको लागि प्रतिबद्ध र एकताबद्ध छ । सातदलले मुलुकको सात ठाउँमा संयुक्त आमसभा गरेर यो कुरा भनिसकेको छ । यस्तो स्थितिमा असन्तुष्ट र संशकित समूहरूलाई वार्तामा बोलाएर संविधानसभाको मूलधारमा ल्याउने आधार तयार भएको छ । सबैलाई थाहा छ कि २८ चैतमा निर्वाचन हुनसकेन भने पछि हट्ने ठाउँ छैन । त्यसकारण पनि निर्वाचन हुन्छ ।

प्रसंग बदलौं, एमालेले प्रधानमन्त्रीय प्रणालीमा जाने निर्णय गर्‍यो, तपाईंहरूको त्यस्तो केही निर्णय भएको छ ?

हामीले हाम्रो घोषणापत्रको मस्यौदामा निर्वाचित राष्ट्रपति राष्ट्र प्रमुखमात्र रहने छन् भन्ने व्यवस्था गरेका छौं । र, सरकारको कार्यकारी प्रमुखचाहिँ संसद्बाट निर्वाचित प्रधानमन्त्री नै हुनेछन् । हामी प्रधानमन्त्रीय प्रणालीमा जानेछौं । संसद् दर्ुइ तहको हुनेछ- राष्ट्रिय सभा र प्रतिनिधि सभा । त्यसलाई अर्को नाम पनि दिन सकिन्छ ।

त्यो त पछिको कुरा भयो । अहिलेचाहिँ सातदलको शासन छ, विधिको शासन छैन भनिन्छ नि ?

त्यो पनि होइन । जिम्मेवारी इतिहासले सातदललाई दिएको छ । त्यस्तो भए पनि मुलुक अन्तरिम संविधान र कानुनअनुसार परिचालित छ । र, हुनुपर्छ । यदि कहीँ कानुनको मर्मअनुसार काम भएको छैन भने सच्याउनु पर्दछ । संविधान र कानुनभित्र रहेर अहिलेको सरकारले मुलुक सञ्चालन गरिरहेको छ ।

निर्वाचन आयोगले शान्तिसुरक्षाको स्थिति यस्तै रहिरहे निर्वाचन सम्पन्न हुनेमा आशंका व्यक्त गरेको छ, उसको आशंका जायज हो ?

शान्तिसुरक्षा र सुव्यवस्था निर्वाचनको लागि अपरिहार्य छ । शान्ति सुरक्षाको अवस्थालाई व्यापक सुधार गर्नुपर्दछ । र, निर्वाचन नहुने गरी शान्तिसुरक्षा बिग्रिएको छ । तर नागरिक समाज र समाजका हरेक तप्कालाई साथमा लिएर गृह संयन्त्रलाई यसरी सञ्चालन गर्नुपर्छ कि शान्तिसुरक्षाको सुदृढ अवस्था बहाल हुनसकोस् ।

आगामी संविधानसभा निर्वाचनमा तपाईंहरू कोसँग तालमेल गर्दै हुनुहुन्छ ?

वामपन्थी दलहरूसँग हाम्रो तालमेल हुनेछ । साथै लोकतान्त्रिक गणतन्त्रवादी अन्य दलहरूसँग पनि तालमेल गर्नेछौं ।

विश्वविद्यालयमा लोकतन्त्र आएन

केदारभक्त माथेमा,  शिक्षाविद्

पुस्तकप्रेमी केदारभक्त माथेमा मिडियामैत्री त छदैछन् । कुटनीतिक र शैक्षिक व्यवस्थापनको राम्रै अनुभव पनि छ उनीसंग । नम्र मिजासका धनी माथेमासंग काठमाडौं कर्नरका अशोक सिलवालले गरेको कुराकानी ।

के गर्दै हुनुहुन्छ, हिजोआज ?

बगैंचा हर्दै किताव पढ्दै । र, देश कुन स्थितिमा गइरहेको छ हेर्दै छु ।

भनेपछि जीवन रमाइलो छ ?

अति रमाइलो छ ।

तपाईंको जीवन त रमाइलो रहेछ, मुलुकको जीवन त ?

मुलुकको जीवन त अहिले पनि चिन्ताजनकै छ । यद्यपि मुलुकले अहिलेसम्म जति प्राप्त गर्‍यो, त्यो पनि आशाप्रदै छ । जंगलबाट लडिरहेको शक्ति शान्ति प्रक्रियामा आयो र अहिले सरकारमै छ । त्यो पनि ठूलो उपलब्धि हो । तर आगामी दिन कसरी जान्छ, संविधानसभा निर्वाचन कसरी हुन्छ, मधेसको समस्या कसरी सुल्झन्छ, यी सवालहरूमा चिन्ता लाग्छ ।

तपाईं त शिक्षा क्षेत्रमा लामो अनुभव भएको मान्छे । लोकतन्त्र स्थापनापछि शिक्षा क्षेत्रमा कस्तो परिवर्तन आयो ?

मुलुकको राजनीतिमा आमूल परिवर्तन आयो । मैले अपेक्षा गरेको थिएँ, शिक्षा क्षेत्रमा पनि त्यस्तै होला । तर, त्यस्तो भइरहेको छैन ।

तपाईं त पहिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुनुहुन्थ्यो । त्यहाँ त लोकतन्त्र स्थापनापछि भागवण्डाको राजनीति भयो नि ?

त्योचाहिँ अलि बेमज्जाकै कुरा हो । नयाँ, सुन्दर र शान्त नेपाल भनेर हामी परिकल्पना गरिहेका छौं । तर यस्तो तरिकाले नयाँ नेपाल बन्दैन । शिक्षाजस्तो पवित्र ठाउँमा यसरी अल्भिmनु जति दुःखद् अरू के हुनसक्छ । यसले गर्दा योग्य मानिस उपयुक्त ठाउँमा पुग्दैनन् । यो सब देखेर योग्य मानिसमा निराशा उत्पन्न हुन्छ । विश्वविद्यालयले राम्रा प्राध्यापक ल्याउन सक्नुपर्रर््छ । तर यो अवस्थाले गर्दा त्यस्ता मानिस त्यहाँ जान हिचकिचाउन सक्छन् । जुन विश्वविद्यालयमा विद्धताको कदर हुँदैन, त्यहाँ राम्रो हुँदैन ।

विश्वविद्यालयको मान्यताअनुसार अहिले हाम्रा विश्वविद्यालय सञ्चालन भएका छैनन् ?

ठ्याक्कै त्यसो त नभनौं । तर राम्रा मान्छेलाई ल्याएर अगाडि बढेको भए राम्रो हुन्थ्यो ।

किन त्यस्तो गर्न नसकिएको होला ?

विश्वविद्यालयद्वारा पनि प्रभाव अभिवृद्धि गर्न सकिन्छ कि भन्ने राजनीतिक दलहरूको धारणा भयो । विश्वविद्यायलाई दैनिक राजनीतिक क्रियाकलापबाट टाढै राख्नुपर्छ । यद्यपि प्राध्यापकको व्यक्तिगत आस्था होला ।

विश्वविद्यालयले राजनीतिलाई निर्देशित गर्नुपर्नेमा राजनीतिले चाहिँ विश्वविद्यालयलाई निर्देशित गरिरहेको छ । विपरीति स्थिति होइन, यो ?

राजनीतिभन्दा पनि दैनिक राजनीतिक क्रियाकलापले निर्देशित गर्नु भएन भन्ने कुरा हो । राजनीतिले त प्रभाव पारिहाल्छ नि ।

February 9, 2008

राजनीतिक खेती मात्र भइरहेको छ

नेपाल बारका पूर्व अध्यक्ष शम्भु थापा जनआन्दोलन-२ ताका चर्चित थिए । गगन थापा, कृष्ण पहाडी, शम्भु थापा आदि त्यसताका हिरो नै भएका थिए । त्यसबेलाको उनको जोश र सक्रियता लोभलाग्दो थियो । तर अहिले उनी निराश छन् । सातदलको आलोचना गर्दै भन्छन्- अहिले विधिको होइन, दलको शासन चलेको छ । उनै हिरो शम्भुसंग काठमाडौं कर्नरका अशोक सिलवालबीचको सम्वाद ।

के छ हालखबर ?

ठीक छ ।

अनि देशको हालखबर चाहिँ कस्तो छ ?

देश विरामी छ ।

अनि कानुनी क्षेत्रको हालखबर त ?

विधिको शासन अभावले देश तनावग्रस्त र विवादग्रस्त छ । यसबाट कानुनी क्षेत्र पनि चोखो रहन सक्दैन । विधिको शासन र राजनैतिक दलको शासन अलग हो ।

अहिले विधिको भन्दा पनि दलिय शासन छ
?

हो, मैले भन्न खोजेको त्यही हो । सातदलीय इच्छाको आधारमा शासन चलेको छ । धेरै टाढा जानुपर्दैन । तातै दृष्टान्त दिन्छु म । निश्चित समयमा हुनु पर्ने स्ववियु निर्वाचन नहुने निर्ण्र्ाासातदलले गर्‍यो । त्यस्तै संविधानसभा निर्वाचनलाई पनि निरन्तर सार्ने काम भयो ।

अब त जुनसुकै हालतमा चैतमा संविधानसभा निर्वाचन हुन्छ भनिएको छ नि ?

जनताले विश्वास नगरेको तर राजनेताहरुले निर्वाचन हुन्छ भनिरहेको स्थिति हो, अहिले । यस्तो कुरा पहिले पनि सुनेको हो, अहिले पनि सुनिराख्या छ ।

तपाईलाई चाहिँ के लाग्छ ?

मलाई कठिन लाग्छ । नेतागणलाई संविधानसभा चाहिएको छैन । जनतालाई चाहिएको छ । राजावाद ढल्दाखेरि राजावाद बोकेर हिँड्ने विभिन्न दलभित्रका मान्छेहरु पनि ढल्छन् । र, म नै अन्तिम र निर्णायक हुँ भन्ने प्रवृत्ति ढल्दै जान्छ । त्यसले गर्दा संविधानसभा निर्वाचन नहुने देखिन्छ ।

नेतागणको कारण नै निर्वाचन नहुन सक्छ ?

अधिकारसम्पन्न हुन र भरिपूर्ण नेपाल बनाउन जनतालाई संविधानसभा चाहिएको छ भने त्यो अधिकार आफूमा सिमित गर्न नेतागण लागेको देखिन्छ । जहाँ खाली राजनीतिको मात्र विवाद हुन्छ, त्यहाँ अरु केही हुँदैन । राजनीतिक खेती मात्र भइरहेको छ यहाँ । त्यसबाट जनताले केही पाएका छैनन् । नेताहरुले भने धेरै पाइरहेका छन् । राजनीतिक खेतीले मात्र राष्ट्र बनाउने खेती ल्याउँदैन ।

पछिल्लो राजनीतिक विकासक्रमबाट निराश हुनुहुन्छ ?

नेताहरुलाई अझै के के पुगेको छैन । उनीँहरुलाई नपुगि हामीले केही पाउनेवाला छैनौं । सात दलका शीर्षस्थ, शीर्षस्थभन्दा मुनिका र वरपरकालाई नपुगि जनताले केही पाउनेवाला छैनन् । अहिलेको व्यवस्थापिका संसदमा उनीहरुको प्रतिनिधित्व हेरियो भने पनि यो प्रस्ट हुन्छ ।

तपाईको भनाइ त राजपा, राप्रपालगायतका दलहरुसँग मिल्दोजुल्दो देखियो नि ?

कोसँग मिल्यो भन्ने प्रश्न महत्वपूर्ण होइन । देश कतातिर गइरहेको छ र त्यसलाई अभिव्यक्त गर्न सकियो कि सकिएन भन्ने महत्वपूर्ण हो । राप्रपा, राजपा लगायतकाले बोल्दा राजनीति मिसिएको होला । तर हाम्रो धारणामा राजनीति छैन । कुनै राजनीतिक दल र नेताको ठाउँ लिन हामी हिडेका पनि छैनौं । राप्रपा, राजपाले त्यो ठाउँ ओगट्न खोजेको होला । हाम्रो स्वच्छ प्रकारको टिप्पणी हो । स्वच्छ टिप्पणीलाई ग्रहण गरे राम्रो । तर टिकाटिप्पणी चाहिँ निरन्तर आइरहन्छ ।

अहिले निर्वाचन आचारसंहिता कतिको पालना भएको छ ?

निर्वाचन आयोगले त्यसबारेमा आप\mनो काम गर्दै होला । तर सातदलले निर्वाचन आचारसंहिता नै चाहिँदैन भन्यो भने पनि त्यही हुन्छ । अब तपाई हामीले कुरा उठाएर हुनेवाला केही छैन । किनभने तपाई हाम्रो हातमा बन्दुक छैन ।

संविधानसभा निर्वाचनमा तपाई उठ्ने चर्चा पहिल्यै चलेको थियो । उठ्दै हुनुहुन्छ ?

निर्वाचनमा उम्मेदवार हुन्छु भनेको कुरा अहिलेसम्म ‘प्याक’ चाहिँ गरेको छैन ।

February 7, 2008

के पायौं भन्दा पनि के दिन सक्यौं भन्ने बेला हो यो

हरिवंश आचार्य, चर्चित कलाकार

हरिवंश आचार्यलाई थप परिचय जरुरी छैन । पछिल्लो समय उनी हरिबहादुरको रुपमा पनि चर्चित छन् । नया नेपालको सास्कृतिक स्वरुप र आसन्न संविधानसभा निर्वाचनका बारेमा उनै हरिबहादुर र काठमाडौं कर्नरका अशोक सिलवाल बीचको सम्वाद ।

नयाँ नेपालको सांस्कृतिक स्वरुप कस्तो हुनुपर्छ ?

जनजाति, भाषा, संस्कृति सबैको समानुपातिक प्रतिनिधित्व हुनुपर्‍यो । एउटै मात्र भाषाको एकाधिकार हुनुभएन । सबै भाषा र संस्कृति देशको सम्पत्ति हो । यो हामी सबैको देश हो भनेर गर्व गर्न सकिने वातावरण तयार हुनुपर्छ । स्थानीय भाषाका टेलिभिजन र रेडियो स्थापना हुनुपर्‍यो । त्यसको संरक्षणका लागि राज्यले पनि भरथेग गर्नुपर्‍यो । अर्को कुरा, विज्ञापनको निरन्तर उपलब्धता हुनुपर्‍यो । तर यी सब हुनाका लागि देशमा दिर्घकालिन शान्ति हुनुपर्‍यो । दिर्घकालिन शान्ति स्थापना भएपछि सबैले फल्ने फूल्ने मौका प्राप्त हुन्छ ।

लोकतन्त्र स्थापनापछि तपाईले चाहिँ के फरक अनुभव गर्नुभयो ?

हिजोको भन्दा फरक अनुभूति होला भनेर नै लोकतन्त्र ल्याएको हो, सबैले मिलेर । अहिले नै सबै किसिमले फरक त भइसकेको छैन । फरक होला नि । तर, अहिले नै फरक हुनुपर्छ, सबैको माग पूरा भइहाल्नुपर्छ भन्ने पक्षमा म चाहिँ छैन । यो संक्रमणकालिन अवस्था हो । यस्तो बेलामा आफ्नो भावनालाई कुण्ठित गरेर भए पनि राज्यलाई सकुसल अवतरण गराउनुपर्‍यो । हामीले के पायौं भन्दा पनि के दिन सक्यौं भन्ने बेला हो यो ।

भनेपछि, अहिले यो भएन, त्यो भएन भन्ने बेला हेाइन ?

हो ।

जनआन्दोलनमा सक्रिय रहुनुभयो । जुन सपना लिएर तपाईहरु सक्रिय हुनुभएको थियो, त्यो अहिले पूरा हुँदै गरेको लक्षण देख्नुहुन्छ ?

सबभन्दा पहिले हामीले शान्तिको निन्द्रा सुत्न पाउनु पर्‍यो । त्यसरी सुत्न पाएपछि सपना देखिहालिन्छ नि । अनि राम्रो दिन पनि आउँछ ।

आगामी २८ चैतमा संविधानसभा निर्वाचन हुने भनिएको छ । हुन्छ जस्तो लाग्छ ?

हुन्छ जस्तो लाग्छ, मलाई । पहिले पनि हुन्छ जस्तो लागेको थियो तर भएन । अहिले पनि हुन्छ जस्तो लाग्या छ । हुन्छ होला ।

फेरि यसपटक पनि नहुने हो कि ?

यस पटक पनि भएन भने पनि अर्को पटक गर्नुपर्छ । यसमा हामी निरन्तर लागि रहनुपर्छ ।

लोकतन्त्र संस्थागत गर्न कलाकारहरुको भूमिका के हुन्छ ?

सबै नागरिकको जे भूमिका हुन्छ, हाम्रो पनि त्यही भूमिका हुन्छ । तर आम नागरिकहरु भन्दा बढी चिनिएको हुनाले हामीले बिखण्डनको कुरा गर्न भएन । देशमा सांस्कृतिक सद्भाव कायम राखेर अगाडि बढ्ने काम गर्नुपर्छ ।

हिजो आज के गर्दै हुनुहुन्छ ?

‘मदनबहादुर हरिबहादुर’को सुटिङमै व्यस्त छु ।

संविधानसभा निर्वाचन भन्दा सुटिङ नै प्यारो होइन त ?

हाम्रो मात्र होइन, तपाई पत्रकारहरुलाई पनि त आफ्नै पत्रिका प्यारो हुन्छ नि । हो कि होइन - हामीलाई हाम्रो पेशा प्यारो हुँदैन त ?

February 2, 2008

यात्रामा तनाव र उपलब्धि दुबै भयो

डा. रामवरण यादव

महामन्त्री, नेपाली कांग्रेस

तर्राईबाट राष्ट्रिय राजनीतिमा आएका धेरै नेताहरुले पछिल्लो समय मूल दल छाडेर विभिन्न क्षेत्रीय दल खोले । अहिले पनि मूल दलमा रहेका नेताहरुको राजनैतिक भविष्य खतरामा परेको बताउन थालिएको छ । ती मध्येका एक कांग्रेस महामन्त्री डां रामबरण यादव भन्छन्- ‘हामीहरुको भविष्य राष्ट्रको भविष्यसँग गासिएको छ । राष्ट्रमा संविधानसभा निर्वाचन सम्पन्न गर्न सकियो, अमनचयन र शान्ति कायम गदै लोकतन्त्र संस्थागत गर्न सकियो भने हाम्रो भविष्य उज्ज्वल छ । राष्ट्र रहे हामी रहन्छौं ।’

तर्राईतिर कति समय घुमेर आउनुभयो ?

दुइ साता ।

कताकता पुग्नुभयो ?

चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, मकवानपुर, महोत्तरी, धनुषा, सिरहा, सुनसरी, मोरंग र झापासम्म म पुगे ।

के रहेछ त्यतातिरको स्थिति ?

ती जिल्लाहरुमा कार्यकताहरुसँग व्यापक भेटघाट भयो । भेटघाटका लागि ठूलो संख्यामा कार्यकर्ताहरु आएका थिए । कतै एक हजार त कतै पाँच हजारसम्म कार्यकर्ता आएका थिए । यसबाट के बुझिन्छ भने कार्यकर्तामा धेरै उत्साह छ । मुलुकभर सातदलको आमसभा सम्पन्न भएको छ, त्यसमा जनताको व्यापक सहभागिता रहेको त सबैले देखिहाल्यौं । तर पूर्वी तर्राईमा स्थिति केही जटिल छ । त्यतातिर शान्तिपूर्ण आन्दोलनका नाममा हिंसात्मक रुपहरु पनि देखिएको छ । हाम्रो यात्राकै क्रममा कयौं ठाउँमा ढुंगामुडा भयो । स्थिति त्यस्तो हुँदाहुँदै पनि जनता उत्साहित छन् । पछिल्लो समयमा दलहरुको सक्रियताका कारण जनतामा दलहरु साच्चिकै गम्भीर भए भन्ने परेको छ । सबै जनता निर्वाचनको मुडमा रहेको पाएँ । हिंसा र तोडफोडमा लाग्नेहरु पचास, सय जना मात्र देखियो । र, तिनैले हाम्रो सभा विथोल्ने गर्छन् । यद्यपि शान्ति सुरक्षा पर्याप्त त छैन । तर, अब विस्तारै त्यो पनि नियन्त्रण हुँदैछ । मान्छेहरुको अर्को कुरा पनि छ । त्यो के भने माओवादीलेे जबरजस्ती छोड्नु पर्‍यो । माओवादी र खासगरी वाइसिएलको चरित्र ठीक भएन ।

भनेपछि समस्या तर्राई मात्र होइन, माओवादी पनि हो ?

हो । समस्या माओवादी पनि हो । र, तर्राईमा शान्तिपर्ूण्ा आन्दोलन भन्ने तर हिंसात्मक समूहका कार्यकर्ता पनि त्यसमा संलग्न हुने गरेको पाइयो ।

शान्तिपूर्ण आन्दोलन गरेको छु भन्नेहरु र हिंसात्मक समूहबीच कार्यगत एकता देखियो
?

अघोषित एकता छ, उनीहरुको । सीमानामा सयुक्त मिटिङ गर्ने जस्ता क्रियाकलाप त्यसैको परिणाम हो ।

उताबाट फर्किदा उत्साहित भएर फर्किनुभएको छ कि निराश भएर ?

म त उत्साह बोकेर आएको छु । हुन त हाम्रो कार्यक्रमलाई लक्ष्य गरेर सप्तरीमा ४ वटा बम पड्काइयो । तापनि हामी आत्तिएका छैनौं ।

यसपटकको तपाईको जिल्ला दौडाहा साँच्चै तनावपूर्ण रहृयो है ?

तनावपूर्ण भए पनि उपलब्धिपूर्ण भयो नि । तुलनात्मक रुपमा मोफसलका शहरहरुमा अलि बढी तनाव छ । तर गाउँका जनता धेरै सही छन् । अहिले निर्वाचनका बारेमा जनतालाई विश्वास भइरहेको छ । अब निर्वाचन कसैले भाड्न खोज्दैमा भाडिनेवाला छैन ।

तपाई त तर्राईबाट राष्ट्रिय राजनीतिमा आउनुभएको । सो क्षेत्रबाट आएका नेताहरुले पछिल्लो समय मूल पार्टी छाडेर विभिन्न क्षेत्रीय पार्टी खोले । अब मूल पार्टीमा रहेका तपाई जस्तो नेताहरुको राजनैतिक भविष्य खतरामा परेको छ भनिन्छ नि ?

त्यो सत्य होइन । हामीहरुको भविष्य राष्ट्रको भविष्यसँग गासिएको छ । राष्ट्रमा संविधानसभा निर्वाचन सम्पन्न गर्न सकियो, अमनचयन र शान्ति कायम गर्दै लोकतन्त्र संस्थागत गर्न सकियो भने हाम्रो भविष्य उज्ज्वल छ । राष्ट्र रहे हामी रहन्छौं । राष्ट्रभित्र त मधेस छ ।