June 8, 2009

राष्ट्रियता र दलहरु

युवराज घिमिरे
 
नेपाली राष्ट्रियताको प्रारम्भिक परिभाषा कसरी सुरु भयो  आधुनिक राज्य प्रणाली अन्तर्गत राष्ट्रियताको अभिव्यक्ति र कार्यान्वयन कसरी भए  यी विषयहरु नेपालमा वौद्धिक चिन्तन र अध्ययनको विषय भए पनि राजनीतिक दलहरुका लागि त्यो गहन चासोको विषय बन्न सकेको छैन । प्रधानसेनापति बर्खास्तगी प्रकरणमा सरकार त्याग गरेपछि एकीकृत माओवादी अध्यक्ष र वरिष्ठ नेताहरुले नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप बढेको दावी मात्र गरेनन नेपाली राष्ट्रियताको प्रवद्र्धन र सम्बद्र्धनका लागि भारत विरोध आवश्यक भएको प्रचार पनि संगठित तथा संस्थागत रुपमा उनीहरुले गर्न थाले ।
भारतको बर्चस्व छ नेपालमा । त्यसैले राष्ट्रियताबारे बहस हुँदा नेपाल सम्बन्धि भारतको नीति नियम र व्यवहार बहशका विषय बन्छन् नै । तर केबल अन्ध भारत विरोध नेपाली राष्ट्रियताको मौलिकता बनेमा राष्ट्रियतालाई संकुचित घेरामा बाँध्ने प्रयास हुने छ त्यो । र त्यो मुलुकका लागि अशुभ संकेत पनि हुनेछ । नेपाल सरकारको भारत नीति के हो स्पष्ट छैन । तर नेपाली नेताहरुको नीतिलाई सामान्यतया दुई किसिमले चित्रण गर्न सकिन्छ ः त्यो या त अन्ध समर्थन या विरोधको छ । र अर्को आयाम पूर्ण समर्पणको । त्यसले गर्दा जागरुक हुँदै गएका नेपाली जनताहरुको विश्वास यी नेताहरुमा कम हुँदै गएको छ । 
अहिले पश्चिमी नेपालको दाङ जिल्लामा भारतीय सीमा सुरुक्षाबलका अधिकारीहरुद्वारा नेपाली क्षेत्रको अतिक्रमण र नेपालीहरुलाई सताइएका घटना साचार माध्यममा ठूलो रुपमा आएका छन् । सीमा क्षेत्र भित्रका नेपाली इलाका र त्यहाँका बासिन्दाहरुको जीउ धन र मानको सुरक्षा राष्ट्रिय अखण्डता तथा सार्वभौमिकतासँग जोडिएका मौलिक पक्ष हुन् । दलहरु त्यसबारे उद्वेलित हुनु अस्वाभाविक हैन । उनीहरु उद्वेलित नभएमा अस्वभाविक मानिनु पर्छ । तर यसमा दुई समानान्तर प्रवृत्ति देखिए नेपाली दलहरुमा । एकीकृत माअेावादीले यसबारे छलफल गर्न बोलाएको बैठकमा बहुसंख्यक दलहरु गए संविधानसभाका । तर कांग्रेस मधेसी जनाधिकार फोरम तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना समूहहरु गएनन् । मधेसवादी पार्टीहरुले आफ्नै सीमा अतिक्रमणको घटनामा उदासिनता देखाउनु अप्राकृतिक उदासिनता मात्र हैन अपराध हो । खासगरी एक मधेस एक प्रदेश मागमा नेपालभित्र संघीयता तथा राज्य पुनसंरचनाबारे राष्ट्रिय सहमति तथा समझदारी खोज्नु पूर्व त्यसको समर्थनमा दिल्लीबाट श्याम शरणको वक्तव्य आउँदा भारतीय नियतबारे नेपालमा शंका पस्नु अस्वाभाविक हैन । केही मामिलाहरु शुद्धरुपमा नेपालका आन्तरिक मामिला हुन् भन्ने कुरा भारत सरकारले नेपाल नीति समीक्षा गर्दा नीति र व्यवहारमा स्वीकार गर्नै पर्ने हुन्छ । अहिले नेपालमा देखिएको भारत विरोध भारतीय नीति र नियमभन्दा पनि व्यवहार विरुद्धको प्रतिकृया हो ।
माओवादीले बोलाएको बैठकमा नजाने अर्को दल कांग्रेसकी नेतृ सुजाता कोइराला अहिले मुलुकको परराष्ट्र मन्त्री बनेकी छन् । पद र गोपनीयताको शपथ लिए लगत्तै र आफ्ना मन्त्रालयका पदाधिकारीहरुको विस्तृत ुवि्रफिङु भन्दा पहिले भारतीय राजदूत राकेश सुदसँग लामो कुरा गर्न रुचाइन उनले । त्यतिमात्र हैन दाङ सीमा अतिक्रमण काण्डमा पत्रपत्रिकामा आएको कुरा अतिरंजित भएको र त्यस्ता समाचारको श्रोतबारे छानवीन गर्न राजदूत सुदले दिएको सुझावको पक्षमा तत्काल सार्वजनिक अभिव्यक्ति पनि दिइन उनले । एउटा परराष्ट्र मन्त्रीको अनुचित मात्र हैन गैर जिम्मेवार आचरण पनि हो यो । यस्ता व्यवहारले सुजाताप्रति मात्र हैन फेरि नेपाल भारत सम्बन्ध प्रकरणमा भारत विरोधलाई पनि उक्साउने छ । प्रकृया र मान्यता विपरितका आचरणले त्यस्तो विरोधलाई अझ तीव्रता दिने छ । सीमा सुरक्षा बल र सीमा अतिक्रमणको यथार्थ उचित छानवीन पछि आउनु पर्छ । त्यो सँगै सीमा सुरुक्षा बलद्वारा नेपालीहरुमाथि भएको अत्याचार नेपाल सरकारसँगै भारत सरकारको चासोको विषय हुन्छ नै हुनै पर्छ । उचित प्रकृया र छानवीनको प्रतिवेदन आएपछि मात्र सरकारको आधिकारिक वक्तव्य आउनु पर्छ । सुजाता कोइरालाको हतारमा आएको वक्तव्य त्यसैले आपत्तिजनक छ । त्यो सँगै यो प्रकरणमा भारतीय राजदूतसँग आफ्नो चासो व्यक्त गर्न ढिलाई गरेर विषयको संवेदनशीलतालाई प्रधानमन्त्री माधव नेपालले समेत वेवास्ता गरेको सन्देश दिएको छ । वैधानिक सरकारले यस्ता गम्भीर मामिलामा उदासिनता देखाउँदा या सरकारले जिम्मेवार आचरण प्रस्तुत नगर्दा अन्य पक्षले आफ्नो राजनीतिक स्वार्थ पूरा हुने गरी मामिलालाई ुहाइज्याकु गर्ने प्रशस्त सम्भावना हुन्छ ।
निश्चय पनि माओवादी या कुनै पनि दलले राष्ट्रियता राष्ट्रिय स्वार्थ स्वाभिमान सुरक्षा र बैदेशिक मामिलासँग जोडिएका विषयमा सहमति या व्यापक समझदारी निर्माणको कोशिसमा लाग्नु सराहनीय पक्ष हो । तर अहिले भारत विरोधको उसको अभियानसँग यी सम्वेदनशील तथा राष्ट्रिय स्वार्थका विषय जोडिनु दुर्भाग्यपूर्ण हुनेछ । नागरिक सर्वोच्चता जस्तै ुराष्ट्रिय स्वाभिमानु माओवादीको एउटा आकर्षक नारा हुन सक्छ क्षणिक रणनीतिका रुपमा । तर माओवादीको विश्वसनीयता घटदै गएको अवस्थामा उसले ुराष्ट्रियताुलाई दुर्घटनामा पार्न सक्ने खतरा पनि बढ्ने छ । भारत विरुद्धको सुरुङ युद्ध भारत र अमेरिकालाई सैन्यरुपमा परास्त गर्ने विश्वमान्यता जस्ता विषयमा उसले सार्वजनिक रुपमा अरु दलहरु समक्ष या मुलुकसँग स्पष्टिकरण नदिएसम्म माओवादी राष्ट्रियतालाई अगाडि बढाउन इमान्दार छ भन्ने आधार हुँदैन । किनकी १२ बुँदेदेखि सत्तामा छँदासम्म उ भारतको ुवफादारु मित्र भएको सन्देश दिन पनि माअेावादी नेतृत्व चुकेको थिएन । त्यसैले अहिले बदलिएको परिस्थितिमा राष्ट्रियतालाई संकुचित अर्थमा परिभाषित गर्ने माओवादीको कसरतले सामान्य जनताको समर्थन र विश्वास आकर्षित गर्न सक्तैन ।
राष्ट्रियताको बहश या खतरा बारेका छलफलको प्रारम्भ प्रचण्डले प्रधानमन्त्रीका रुपमा राजीनामा गरेको विन्दुबाट मात्र सुरु हुन लागेको सन्देश माओवादीले दिने कोसिश गरेको छ त्यसमा खोट छ ।
२००७ सालयताकै कुरा गर्दा दिल्ली सम्झौतापश्चात नेपालमा मन्त्री परिषदमा भारतीय अधिकारीहरुको उपस्थिति भारतीय राजदूतलाई भेट्न नेपाली प्रधानमन्त्री जाने प्रचलन उत्तरी सीमा क्षेत्रमा भारतीय सेनाको उपस्थिति र यी सबैको अन्त गर्न वीपी कोइराला राजा महेन्द्र तथा प्रधानमन्त्रीका रुपमा कीर्तिनिधि विष्टको भूमिका राष्ट्रियताको दृढ अभिव्यक्ति थिए । न त भारतलाई जिस्काउन ती व्यवस्थाहरु उल्टाइएका थिए । जवाहरलाल नेहरुले नेपाल सरकारलाई भारतलाई सूचित नगरी कुनै अन्य मुलुकसँग सम्पर्क नराख्न गरेको आग्रहलाई नेपालले स्वीकार गरेन । प्रचण्डको रणनीतिक राष्ट्रियताभन्दा पहिलेदेखि नै नेपाली राष्ट्रियताले प्रगाढ रुपमा जरा हालेको थियो त्यसले संरक्षण र सम्बद्र्धन हासिल गरेको थियो । वीपी कोइराला सन् १९७६ मा राष्ट्रियता र प्रजातन्त्रको सहअस्तित्वलाई संस्थागत गर्न फर्केका थिए मेलमिलापको नाराका साथ । र त्यसमा छिमेक र बाहय मुलुकलाई दोष दिनुभन्दा नेपाली राष्ट्रियतालाई सहमतिमा आधारित अनुहारका साथ बाहिरी जगत समक्ष प्रस्तुत गर्नु र त्यसको व्याख्या तथा कार्यान्वयनमा स्पष्टता र इमानदारी दखाउनु चुनौति बनेको छ नेपालका लागि ।
बाह्य हस्तक्षेपको प्रचण्डको अभिव्यक्तिको पक्षमा उनले अहिलेसम्म मुलुक समक्ष कुनै प्रमाण प्रस्तुत गरेका छैनन् । त्यस्तै उनको प्रधानमन्त्रित्वकालमा चीनसँग ुसुपर्दगी सन्धीु गोप्य रुपमा हुन लागेको सूचना उनकै परराष्ट्रमन्त्री उपेन्द्र यादवले भन्दै आएका छन् । राष्ट्रियताको सन्दर्भमा कुरा गर्दा यी सबै तथ्यहरुलाई केलाउनु आवश्यक हुन्छ । त्यसैले केही अपवादबाहेक नेपाली नेताहरु ुछद्म चालु लाई राष्ट्रियताका रुपमा प्रस्तुत गरेको नेपालीहरुले बुझेका छन् । राष्ट्रियताबारे नेपाली नेताहरुमा देखिएको द्वैध चरित्रका बाबजुद नेपाली जनतामा त्यसप्रति देखिएको जागरुकता अहिलेको सुखद पक्ष हो ।

Comments »

The URI to TrackBack this entry is: http://kathmanducorner.blogsome.com/2009/06/08/p46/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.