अर्को गोप्य ‘डिल’ लादन पाइन्न मुलुकमा
युवराज घिमिरे
विगत ३ वर्षमा या शान्ति प्रकृया सुरु भएयता माओवादीले त्यसबेला सबभन्दा बढी राजनीतिक उपलब्धि हासिल गरेका छन् जब उनीहरु सत्तामा कनिष्ठ सहभागी थिए या सत्ता बाहिरबाट सरकार समर्थक । प्रधान सेनापति रुकमांगद कटवाल बर्खास्तगी प्रकरणमा राजीनामा गरेपछि माओवादीको हैसियत स्पष्टसँग परिभाषित भई सकेको छैन तर उसको ‘बार्गेनिङ’ हैसियत सरकारमा रहँदाभन्दा कैयौं गुणा बढी सकेको छ । उमेर र शारीरिक असक्तताका कारण कांग्रेस सभापति गिरिजाप्रसाद प्रचण्डनिवासमा धाउन सकेका छैनन् आफ्नो या छोरीको राजनीतिक महत्वाकांक्षा प्राप्तिका लागि । तर अहिले प्रचण्डको र अरु नेताहरुको हैसियत ‘दिने’ र ‘माग्ने’को भएको छ । प्रधानमन्त्री माधवकुमार नेपाल प्रचण्डलाई भेट्न गोदावरीको उनको अस्थायी आश्रय थलोमा जानुले त्यो स्पष्ट पार्छ । नेपाली राजनीतिमा राष्ट्रिय स्वार्थ र हितमा या राष्ट्रिय एजेण्डा निर्माणमा नेताहरुबीच सम्वाद र वार्ताको संस्कारको जग बस्नु आवश्यक छ । तर प्रचण्ड अस्थायी आश्रय थलोमा प्रधानमन्त्री नेपालको आगमन र त्यहाँ उठेका मुद्दा तिनका प्रस्तुती शैली र सरकार-समर्थन तथा संविधानसभा साचालनमा माओवादी शर्तले सहमतिका सम्भावनाहरुलाई असम्भव नभए पनि न्यून तुल्याएको छ । प्रधानमन्त्रीबाट पूर्ण समर्पण शर्त हो माओवादीहरुको । कटवाल बर्खास्तगी प्रकरण या नेपाली सेनामा नांगो हस्तक्षेपमा विजयी भएको अवस्थामा माओवादीले पूर्ण विजय हासिल गरेको सन्देश जाने थियो यदि राष्ट्रपति रामवरण यादवले अन्तिम घडीमा प्रधानमन्त्रीले नै राष्ट्रपतिको भूमिका प्रधान सेनापति बर्खास्तगी र कुलबहादुर खड्कालाई का।मु। मुकर्रर गर्दा तथा अधिकार प्रयोग गरेको अवस्थामा पनि । किन प्रधानमन्त्रीका रुपमा प्रचण्डले राजीनामा गरे त्यसबेला अनेक अडकलवाजी हुन थालेका छन् । पहिलो : प्रधानमन्त्रीका रुपमा प्रचण्ड चीनको आधिकारिक भ्रमणको तयारीमा थिए जहाँ उनले शान्ति तथा मैत्री सन्धीका साथै सुपुर्दगी सन्धीमा हस्ताक्षर गर्नुपर्ने परिस्थिति उत्पन्न भई सकेको थियो । तर त्यो सन्धीले व्यवस्थापिकाको दुईतिहाईको अनुमोदन पाउने कुरामा शंका त थियो नै दक्षिणमा त्यसको प्रतिकृयाको प्रभाबबाट नेपाल मुक्त हुन सक्ने अवस्था थिएन । चीन गएर अप्ठ्यारोमा पर्नु भन्दा प्रधानमन्त्री पदबाट बाहिरिनु राजनीतिक रुपमा श्रेयश्कर भएकोले नै त्यति सजिलोसँग प्रचण्डले राजीनामा दिएको मान्नेहरुको संख्या ठूलो छ । तर प्रचण्डले अहिलेसम्म प्राय पराजयलाई या प्रतिकूल अवस्थालाई विजय र अनुकुलतामा परिणत गर्न सफल भएका छन् । अप्ठयारो परिस्थिति सामना गर्नबाट बचेका छन् उनी चीन भ्रमणको पूर्व सन्ध्यामा राजीनामा गरेर । चीनको उनीबाट अपेक्षा र आशा अझै गुमी सकेको छैन । यता प्रधानमन्त्री नेपाललाई समर्थनको ‘ललीपप’ देखाउन सफल भएका छन् उनी । तर झण्डै ‘शैलाक’ जस्तै माधव नेपालको जीउबाट ‘एक पाउण्ड मासु’ चाहान्छन् प्रचण्ड त्यसको बदलामा । रथी कुलबहादुर खडकालाई नछुन बरु उनलाई चारतारे जर्नेल बनाउने प्रस्ताव प्रधानमन्त्रीबाट अनुमोदन गराएका प्रचण्डको हैसियत पहिलेको भन्दा धेरै ठूलो रुपमा स्थापित हुनेछ नेपाली सेना भित्रै पनि । हुकुम प्रमांगी शैलीमा कसैलाई चारतारे जर्नेल बनाएर सेनाभित्र बेथिति कायम गर्दा प्रचण्डको दीर्घकालिन राजनीतिक अभिष्ट सिद्ध हुने छ भने सेनाको आक्रोशको निशाना माधव नेपाल स्वयं बन्ने छन् । राष्ट्रपतिले कटवाल प्रकरणमा उनको बर्खास्तगी रोकेको प्रसंग असंबैधानिक र नागरिक सर्वोच्चताको सिद्धान्तको खिलाफ मान्दै आएको माओवादीका लागि माधव नेपालको त्यस्तो अनुमोदन सबभन्दा शक्तिशाली राजनीतिक र नैतिक विजयको प्रमाण हुने छ । र नेपाली सेनाको साचालनको ‘रिमोट कन्ट्रोल’ सैनिक मुख्यालय रक्षा मन्त्रालय या बालुवाटार नभएर नयाँ बजारको हातमा पुग्ने छ । अर्कोतिर स्वाभाविक रुपमा राष्ट्रपति र प्रधानमन्त्रीको टरावको विन्दु पनि त्यो हुने छ । प्रधानमन्त्रीलाई कानुनी सल्लाह हासिल गर्ने छुट छ र सम्भवत राष्ट्रपतिको बैशाख २० गतेको कदमलाई कानुनवीदहरुले असम्वैधानिक भन्न सकेका छैनन् । उनीहरुले प्रधानसेनापति बर्खास्तगीको असम्वैधानिकता प्रधानमन्त्रीबाट भएकोले वर्तमान सरकारले त्यो निर्णय उल्टाउनु पर्ने सुझाव दिएका छन् । तर अर्कोतिर गोदावरी अर्किड फार्ममा प्रचण्डले राखेको सुझाव कानुनवीदहरुको सुझाव विपरित छ । उनी खडकालाई आफ्नो कृपा र कोटाको ४ तारे जर्नेल बनाएर सेनामा आफ्नो प्रभुत्वको प्रमाण र त्यसबाट पर्ने मनोवैज्ञानिक प्रभाव स्थापित गर्न चाहन्छन् । सेनामा हस्तक्षेप माओवादीहरुको एकलौटी एजेण्डा हुन सक्तैन । न माधव नेपाल र प्रचण्डको ‘गोप्य डील’ लाई मुलुकले स्वीकार गर्ने छ । सेनामा सुधार माअावादी लडाकुहरुको अन्तिम व्यवस्थासँग जोडिएको विषय हो त्यसलाई माओवादीले स्वीकार गर्नै पर्छ । शान्ति प्रकृया संविधान लेखन प्रकृयाको आधार हो । शान्ति प्रकृयाको सार्वजनिक र वाध्यात्मक प्रतिवद्धता बृहत शान्ति सम्झौताको कार्यान्वयन हो । बेपत्ताहरु सम्बन्धि छानवीन आयोग सत्य निरुपण तथा मेलमिलाप आयोग गठन र माओवादीद्वारा कब्जा गरिएका सम्पत्ति फिर्ता नभएसम्म शान्ति प्रकृयामा उनीहरु इमान्दार भएको सन्देश जाँदैन । विगत ३ वर्षमा माओवादीको विश्वसनियतामा ठूलो चोट पुगेकोले बृहत शान्ति सम्झौता कार्यान्वयनमा उ बढी सकृय र इमान्दार भएको मान्ने पर्याप्त आधार हुनु पर्छ जनतासँग । शान्ति प्रकृयासँगै माओवादीहरु खुला राजनीतिमा आएका छन् । खुला राजनीति हतियारको शक्तिमा नभएर जनताको समर्थनको शक्तिबाट साचालित मात्र हुँदैन त्यसमा पारदर्शीताको बर्चस्व रहन्छ । शैली र नियत त्यत्ति नै पारदर्शी हुने अपेक्षा गरिन्छ । त्यसैले ‘गोप्य डिल’द्वारा सेनाको संरचना या नेतृत्वलाई प्रभावित गर्ने त्यसलाई जिस्काउने या उक्साउने खेलमा माओवादी पार्टी र एमाले दुवै लाग्नु मुलुक एमाले र माओवादी सबैका लागि घातक हुनेछ । खासगरी गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा माओवादीले आफ्नो शक्ति र हैसियतभन्दा बढी तात्कालिक उपलब्धि हासिल गरेको सन्दर्भमा अहिले सत्ता बाहिरबाट उसले अनुचित लाभ लिने कोशिस गरेमा माओवादी जनसमक्ष नािगंने छ । एमाले भित्रको राजनीतिक समीकरणले के स्पष्ट पार्छ भने पार्टी अध्यक्ष झलनाथ खनाल माधव नेपालको काँधबाट बन्दुक चलाउन प्रयासरत छन् । २ सातासम्म सरकार बन्न नदिनमा एमाले पार्टी नेतृत्व जिम्मेवार छैन र खनालले मन्त्रीहरुको नाम संस्थागतरुपमा दिन नसक्नु या नचाहनुले प्रधानमन्त्रीका रुपमा नेपालको सफलता उनले कति चाहेका छन् स्पष्ट भएको छ । यस्ता राजनीतिले मुलुकमा अस्थिरता अन्योल र नाजायज समीकरणलाई मात्र प्रोत्साहित गर्ने छ । सविधानसभामा सबभन्दा ठूलो दलको हैसियतले माओवादीले सरकारमा जाने समानुपातिक प्रतिनिधित्व खोज्ने या आफ्नै नेतृत्वमा सरकार बन्नु पर्ने सार्वजनिक अडान लिन सक्छ तर षडयन्त्रबाट राजनीतिक पद्धतिलाई ध्वस्त पार्ने खेलमा लागेमा उसको अराजनीतिक हैसियत स्थापित हुनेछ । माओवादीको आगामी बैठकले खुला राजनीतिमा उ इमान्दारीसाथ खुलेर लागेको प्रमाण पेश गर्नु आवश्यक छ खासगरी प्रचण्ड भिडियो टेप प्रकरणपछि । प्रचण्डको नेतृत्व हाललाई असफल सिद्ध भएको छ मुलुकको प्रधानमन्त्रीका रुपमा । त्यसैले विविध दलहरुको सहमतिमा आधारित राष्ट्रिय एजेण्डालाई लागु गर्ने या त्यसबाट निर्देशित हुने शर्तमा माओवादीले वैकल्पिक नेतृत्व दिने सम्भावना खोज्न सक्छ । उसको केन्द्रिय स्तरको जारी बैठक उपयुक्त थलो र अवसर हुनेछ । (राजधानी दैनिकबाट साभार)

